९ मंसिर २०८१, आईतवार
बौद्ध परिसरमा टिकटक भिडिओ खिँच्न निषेध गरिएको छ । टिकटक खिच्नेको खंख्या दैनिकरुपमा वढ्दा शान्त वातावरणमा खलल पुगेको भन्दै प्रतिबन्ध लगाइएको हो ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिले सोमबारदेखि भिडिओ खिच्न निषेध गरेको हो । बौद्ध परिसरमा दिनरात टिकटक भिडिओ बनाउँदा आगन्तुकहरुलाई ‘डिस्टर्भ’ गरेको भन्दै समितिले सूचना बोर्ड समेत राखेको छ ।
‘बौद्धनाथ क्षेत्रलाई धार्मिक एवम् शान्तिपूर्ण क्षेत्र मानिन्छ। तर यहाँ टिकटकको नाममा होहल्ला गरेको पाइयो,’ समितिका कार्यकारी निर्देशक बसन्त लामाले भने, ‘टिकटक भिडिओ बनाउँदा मोबाइलबाट चर्को स्वरमा गीत-संगीत बजाउँछन् र जथाभावी उफ्रदैँ हिड्छन्। त्यसैले, यसरी बोर्ड नै हालेर चेतावनी दिनुपर्ने अवस्था सिर्जना भएको हो।’
उनले अगाडी भने, ‘टिकटक प्रयोगकर्ताले यहाँ आउने बौद्ध धर्मावलम्बिलाई पूजापाठ गर्न र धर्मचक्र घुमाउन समेत अवरोध गरेको पाइयो। परिसर भित्र भीड पनि बढाएको महशुस गर्यौं।’
टिकटकका कारण शान्तपुर्ण वातावरण विथोलिएपछि समितिले स्थानीय बासिन्दा र प्रहरीसँगको सहकार्यमा यो निर्णय लिएको हो ।
यसको सही कार्यान्वयन भएको छ वा छैन भन्ने निगरानीका लागि १२ सुरक्षा गार्ड खटाएको पनि कार्यकारी निर्देशक बसन्तले जानकारी दिए ।
त्यस्तै, परिसर भित्र विभिन्न ठाउँमा सिसिटिभि पनि राखिएको छ । बौद्ध परिसरभित्र फोटा र भिडिओ खिच्न भने मनाही गरिएको छैन ।