आज सांकेतिक रुपमा रातो मछिन्द्रनाथको रथयात्रा हुने

होमल्याण्ड खबर

२०७८ जेष्ठ १ गते, शनिबार १२:२१ मा प्रकाशित

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज ललितपुरमा सांकेतिक रुपमा तानिने भएको छ ।

हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार आज दिउँसो साढे २ बजे रथ तानिँदै छ  ।

पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने  ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए।

साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने  पानेजु नरेन्द्र शाक्ले बताए ।

मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

गत वर्ष पनि कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । रथयात्राको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । झडको क्रममा केही घाइते समेत भएका थिए ।