३० फाल्गुन २०८२, शनिबार
संसदको हिउँदे अधिवेशन सुरु हुनुअघि मंगलबार मध्याह्न १२ बजे बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एमाले) को संसद अवरोध नीतिका विषयमा प्रश्न उठाउँदै पुष्पा भुसालले अदालतमा विचाराधीन विषयलाई सदनले निकास दिनुपर्छ भन्नु गलत रहेको दावी गरेकी छिन् ।
‘अदालतमा विचाराधीन विषयलाई सदनले निकास दिनुपर्छ भन्नु गलत’ भएको उल्लेख गर्दै बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले भनिन्, ‘अदालत नगएको भए एउटा कुरा हुन सक्थ्यो । आफैँ अदालत जाने अनि संसदमा त्यही विषय उठाइरहने ? निकास खोजेको कहाँबाट हो ? यो बदनीयतपूर्ण छ ।’


लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले सभामुखलाई आग्रह गरे, ‘एमालेले तपाईंलाई आक्षेप लगाएको छ, संसद बन्द गराइराखेको छ । सभामुखले मैले के निर्णय गरिदिनुपर्ने हो भनी एमालेलाई सोध्नुपर्यो।’
तर, सांसदद्वय भुसाल र कर्णको जवाफ दिन एमालेका सांसदहरु बैठकमा उपस्थित थिएनन् ।