२ चैत्र २०८२, सोमबार
निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण सोधेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग सोमबार स्पष्टीकरण मागेको छ ।
केही दिनअघि स्थापितले धुम्बाराहीस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवहारलाई लिएर स्पष्टीकरण सोधेको निर्वाचन आयोग जनाएको छ ।


कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । त्यसपछि स्थापित थप विवादमा तानिएका हुन् ।
उक्त अभिव्यक्ति निर्वाचन आचारसंहिता अनुकूल नभएको हुँदा आयोगले स्पष्टीकरण मागेको हो । पत्र बुझेको चौबीस घण्टा भित्र स्थापितले स्पष्टीकरण आयोग समक्ष बुझाउनु पर्ने आयोगले जनाएको छ ।