ओलीलाई भोट माग्ने नैतिक आधार नै छैन : महामन्त्री थापा

होमल्याण्ड खबर

२०७९ बैशाख २३ गते, शुक्रबार १५:२७ मा प्रकाशित

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन् । प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए । महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोप समेत लगाए ।

उनले कम्युनिष्ट नेता र पार्टीहरुले खेर फालेको ५ वर्षको समयका लागि जनतासमक्ष माफी माग्नुपर्ने बताए । महामन्त्री थापाले कम्युनिष्ट पार्टीहरुले जनताले देश विकासका लागि जिताएर पठाएको भएपनि ५ वर्षको अवसर खेर फालेकोले त्यसको लागि जनतासमक्ष क्षमा, याचना माग्नुपर्ने बताए ।