आलमको मुद्दामा सर्वोच्चद्वारा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

होमल्याण्ड खबर

२०७९ बैशाख २३ गते, शुक्रबार १६:१० मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ। मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो।

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। योसँगै आलमको माग बदर भएको भने उनी थुनामुक्त नहुने भएका छन्।

नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको केही व्यक्तिको ज्यान लिएको आरोप लागेको छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए।

आलम नक्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुद्ध ३२ वर्ष कैदको माग गरिएको छ।