मतदाता परिचयपत्र हराए भोट हाल्न पाइन्छ ?

होमल्याण्ड खबर

२०७९ बैशाख २६ गते, सोमबार १५:४७ मा प्रकाशित

यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् । मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ ।

निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

“पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो,” उनले भने ।

हराए वा नष्ट भएकाको हकमा के हुन्छ ?

निर्वाचन आयोगले गत फागुन ५–२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यलयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो ।

परिचयपत्र हराएकाका हकमा प्रतिलिपि लिनका लागि निवेदन दिने म्याद दिइएको थियो । निवेदन दिनुभएको छ भने प्रतिलिपि आउनेछ । सोही प्रतिलिपि वितरण हुनेछ ।

निवेदन नदिएका र मतदाता परिचपत्र नभएका हकमा के गर्ने भन्ने निर्णय भइसकेको छैन ।

अघिल्लो निर्वाचनमा मतदाता परिचयपत्र नभए पनि नागरिकतालगायत परिचयपत्रबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो ।

नयाँ मतदातालाई २८ र २९ गते परिचयपत्र बाँडिने
योपटक ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका छन् । नयाँ मतदातालाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने छ ।

थपिएका मतदातको हकमा वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण हुनेछ ।

मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन् । मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ ।