संसद्को बजेट अधिवेशन सञ्चालन गर्न सभामुखको आग्रह

होमल्याण्ड खबर

२०७९ जेष्ठ २ गते, सोमबार १५:०८ मा प्रकाशित

सोमबार संसद् भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मंगलबार भोलिदेखि सुरु हुने संसद्को अधिवेशनलाई सौहार्दपूर्ण ढंगमा सञ्चालन गर्न राजनीतिक दलहरूलाई अपिल गरेका हुन् ।

उनले आफ्नो कुराकानी नभए पनि कानुनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको आफूले जानकारी पाएको बताए । सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरूबीच समझदारी बन्ने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले बजेट अधिवेशन मूल रुपमा बजेटमै केन्द्रित हुने बताए । सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताए ।

उनले सर्वसम्मत भइसकेको विधेयकहरूलाई अगाडि बढाउनका लागि राजनीतिक दलहरूबीच समझदारी भएमा त्यसलाई अगाडि बढाउन संसद् सचिवालय तयार रहेको स्पष्ट पारे ।

संघीय संसद्को बजेट अधिवेशन मंगलबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।