कमेडियनसँग ‘प्रकाश’ टुर

होमल्याण्ड खबर

२०७९ असार ३० गते, बिहीबार १०:२४ मा प्रकाशित

बाहिरिएका कन्टेनमार्फत दर्शकमाझ आफ्नो पहिचान स्थापित गरिरहेको फिल्म ‘प्रकाश’ युनिटले मोफसलमा दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । द्वन्द्वको समयमा एक शिक्षित युवाले शिक्षक बन्न गरेको संघर्षको कथा भन्ने फिल्मको ‘मोफसल टुर’ भने कमेडी सहितको हुनेछ । द्वन्द्वको परिवेशमा एउटा परिवारले भोगेको पिडालाई चित्रण गर्ने फिल्मको बारेमा जानकारी दिन टिमसँगै युवापुस्ताका कमेडियनहरु हुनेछन् ।

टेबल मुनीबाट नामक स्ट्यान्ड अप कमेडी टुरमा फिल्मका प्रकाश अर्थात् प्रदीपसँगै केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरु भई भदौ ५ गते काठमाडौँमा टुङ्गिने छ । असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ विराटनगर, श्रावण २७ र २८ हेटौँडामा र भदौ ३, ४ र ५ गते काठमाडौँमा कार्यक्रम आयोजना हुनेछ ।

काठमाडौँमा हुने इभेन्टमा मोफसलमा सहभागी कमेडियनसँगै अन्य कलाकारहरुको समेत उपस्थिति रहनेछ। फिल्म टिमले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकाश सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।