जातीय विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई परास्त गरेका छौँः प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७५ भाद्र १८ गते, सोमबार ११:४७ मा प्रकाशित

गौरापर्वको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकताबद्ध गराउने काम गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण गराए । बिशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने गौरा पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुद बनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सुदूरपश्चिम क्षेत्रमा धुमधामका साथ मनाईने गौरा पर्व भाद्र कृष्णपञ्चमीका दिनदेखि सुरु भएको छ । गहुँ, केराउ, गहत, मास र गुरौसको समिश्रणबाट बन्ने बिरुडा खाएर मनाईने गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउनुका साथै सुख शान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता खुशी हुने जनविश्वास छ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले गौरा पर्व–२०७५ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र राष्ट्रको निरन्तर समुन्नतीको शुभकामना व्यक्त गरेका छन् ।
‘सात नंं प्रदेश अर्थात साविकको सुदुरपश्चिमाञ्चल क्षेत्र प्राकृतिक रुपमा अत्यन्त सुन्दर छ । गौरा पर्व र गौरा पर्वको अवसरमा नाचिने देउडामा गाईने पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ, देउडाका माध्यमबाट महिलाहरुले पोख्ने सुख–दुःख र सामाजिक विकृतिविरुद्ध गरिने व्यङ्ग्य जस्ता संस्कार संस्कृतिले सुदूरपश्चिम क्षेत्रलाई झनै सुन्दर बनाएको छ । गौरा पर्व, देउडा संस्कृति सुदूरपश्चिम क्षेत्रको मात्रै होइन नेपाल राष्ट्रकै पहिचान हो,’ उपराष्ट्रपतिद्वारा शुभकामना सन्देशमा भनिएको छ ।

यस वर्षको गौरा पर्वले धार्मिक सहिष्णुता र सद्भावलाई बलियो बनाउने विश्वास लिएको शुभकामना सन्देशमा उल्लेख छ ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रदेश नम्बर ७ तथा कर्णाली लगायतका कतिपय जिल्लामा ऐतिहासिकरुपमा मनाईंदै आएको चाड ‘गौरा पर्व’ का अवसरमा शुभकामना व्यक्त गरेका छन् ।