३० बुँदे संकल्प प्रस्ताव पारित गर्दै ऊर्जा सम्मेलन सम्पन्न

होमल्याण्ड खबर

२०७५ कार्तिक १६ गते, शुक्रबार १४:१० मा प्रकाशित

अन्तरदेशीय विद्युत् व्यापार गर्न स्थायी क्षेत्रीय समन्वय केन्द्र स्थापना लगायतका ३० बुँदे संकल्प प्रस्ताव पारित गर्दै चौथो अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलन सम्पन्न भएको छ ।

ग्रामीण तथा सहरी विकासका लागि नवीकरणीय ऊर्जा प्रविधिमा केन्द्रित रहेर आयोजना गरिएको सम्मेलन सन् २०३० भित्र सबैलाई ऊर्जाको पहुँच पुर्याउनुपर्ने सह्रसताब्दी विकास लक्ष्य (एसडीजी) को लक्ष्यलाई पूरा गर्न केन्द्रित हुनुपर्ने, समन्वय केन्द्र स्थापना गर्नुपर्ने लगायतका संकल्प पारित गर्दै सम्मेलन सकिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानद्वारा संयुक्तरूपमा आयोजित सम्मेलनले सिंगा सामाजिक आर्थिक विकासका लागि नवीकरणीय ऊर्जामा आधारित गुणस्तरीय र विश्वसनीय विद्युत्को सुनिश्चितता, सहजरूपमा विद्युत्को पहुँच बढाउन क्षेत्रीयस्तरमा इनर्जी डाटा बैंकको स्थापनालगायतमा जोड दिएको छ ।

त्यसैगरी सस्तो नवीकरणीय ऊर्जामा आधारित मिश्रित ऊर्जा विकासमा उचित नीतिगत व्यवस्था, समान लाभका लागि ग्रामीण तथा सहरी विकाससँगै व्यावसायिक र औद्योगिक क्षेत्र विस्तारमा उच्च प्राथमिकता, नवीकरणीय ऊर्जा विकासमा निजी लगानी प्रोत्साहन गर्न लगानीमैत्री वातावरणमा सुधार, रोजगारी सिर्जनामा नवीकरणीय ऊर्जा स्रोतको अधिकतम उपयोग गर्न क्षेत्रीयस्तरमा नवीकरणीय ऊर्जा प्रविधिबारे समन्वय, आदानप्रदान तथा सहयोगका साथै राष्ट्रिय तथा क्षेत्रीय विद्युत् क्षेत्र पुनर्संरचना गर्न अन्तरदेशीय विद्युत् व्यापार प्रवद्र्धन गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ ।

नवीकरणीय ऊर्जा प्रयोगबाट एलपीजी ग्यास विस्थापन, द्रुत गतिमा नवीकरणीय ऊर्जा प्रविधि विकास गर्न कर्मचारीतन्त्रमा देखिएको अवरोध अन्त्य, ऊर्जा र खाद्य सुरक्षाका लागि जलविद्युत् र सिँचाइको समानान्तर विकासलगायतमा समेत सम्मेलनले संकल्प प्रस्ताव पारित गरेको छ ।

सम्मेलनको समापनमा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै क्षेत्रका लागि ऊर्जा मुख्य आधार वस्तु भएको बताए । सरकारले नीति, आवधिक योजना र बजेटमार्फत ऊर्जालाई महत्व दिएको बताए । पूर्वाधार निर्माण, औद्योगिकीकरण, व्यापार र समग्र विकासका लागि ऊर्जा आधारभूत वस्तु रहेको बताए । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा नेपाललगायत करिब १५ देशका २५० जना ऊर्जाविद्को सहभागिता रहेको थियो । सम्मेलनमा नवीकरणीय ऊर्जासम्बन्धी ८० वटा कार्यपत्र प्रस्तुत भएका थिए ।