लिंगो ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा

होमल्याण्ड खबर

२०८१ भाद्र ३० गते, आईतवार १३:५७ मा प्रकाशित

वसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकामा आइतबार इन्द्रध्वज ठड्याइ इन्द्रजात्राको औपचारिक सुरुवात भएको छ ।

मानन्धर समुदायले भक्तपुरको चित्तापोलबाट विधिपूर्वक पूजाआजा गरी ल्याएको लिंगो आज बिहान ठड्याइएको हो । चलिआएको परम्पराअनुसार लिंगो ठड्याएसँगै उपत्यकामा इन्द्रजात्रा सुरु भएको मानिन्छ ।

काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ । असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो ।

उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।