पाँचौ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २७ विधामा प्रदान

होमल्याण्ड खबर

२०८२ जेष्ठ २० गते, सोमबार १३:३८ मा प्रकाशित

फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान गर्दै पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा शनिवार बेलुका सम्पन्न भयो । कार्यक्रममा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । तर स्वास्थ्य समस्याका कारण उनी कार्यक्रममा उपस्थित हुन सकिनन् ।

समारोहमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संगीतकार दीपक शर्मालाई दशकको संगीत सम्मान, कुबेर डंगोललाई चलचित्र फोटो पत्रकार सम्मान प्रदान गरे । यस्तै चलचित्र निर्माता रौनक विक्रम कँडेल, फोटो पत्रकार बद्री थापा, गायक डेविड शंकर, नृत्य निर्देशक प्रदीप कुमार रसाइली, युवा उद्यमी नवराज पाण्डे र कपुर साउद पनि कार्यक्रममा सम्मानित भए ।

समारोहमा संगीत तर्फ १९ विधामा अवार्ड प्रदान गरियो । जसमा आधुनिक तर्फ उत्कृष्ट गायकको अवार्ड मायाले सजाउँलाबाट ओम सुनारले, गायिकाको अवार्ड यो दिलकोबाट स्वाती भट्टले, गीतकारको अवार्ड मलाई तिमीबाट हंस राज जोशीले, म्युजिक भिडियो पुरुष मोडलको अवार्ड तप तप पानीबाट दिलीप ओखेडाले, महिला मोडलको अवार्ड हे गोरीबाट मल्लिका राजोपाध्यायले, महिला जुरी अवार्ड शिला गजुरेलले र म्युजिक भिडियो मेकअप अवार्ड नगर दोमनबाट मनीषा श्रेष्ठ (कमला) पाईन् । यस्तै कोरियोग्राफी (स्टेज प्रस्तुति)को अवार्ड माया भन्दा ठुलोबाट केशव कोइरालाले, नेपाल भाषातर्फ गायनको अवार्ड छँगु मतिनाया आशयबाट राजकुमार मानन्धरले र गायन जुरी अवार्ड मुसुहुँ न्हिलाबाट सुनिल चित्रकार प्राप्त गरे ।

लोक गीत गायनको अवार्ड हरि भजन गीतबाट शान्ति कुमारी शाहीले, लोक गायन जुरी अवार्ड ओए सोल्टिनीबाट आयुमी तामाङले, लोक दोहोरी गायकको अवार्ड बालेनको सहरबाट चन्द्र शर्माले, लोक दोहोरी गायिका अवार्ड माया पिरतीबाट नम्रता खरेलले, लोक दोहोरी गीत रचनाको अवार्ड छोड सताउनबाट डब्बु क्षेत्रीले पाए भने लोकदोहोरीमै म्युजिक भिडियो पुरुष मोडलको अवार्ड पानको पातबाट पल शाहले, महिला मोडलको अवार्ड यो दुनियाँबाट जुना कार्कीले, म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड एक नम्बरी सुनबाट रबिता मगरले हासिल गरे ।

चलचित्र तर्फ गीतकारको अवार्ड चलचित्र न मेटिएको घाउको बाहिरी पीडाबाट विकास विष्टले, चलचित्र संगीतकारको अवार्ड एक्टर वान टेक चलचित्रको के भरोसा गरमबाट हर्कुलस बस्नेतले हासिल गरे ।

यसैगरी फेसन र मोडलिङ तर्फ उत्कृष्ट फेसन डिजाइनर अफ दि इयरको अवार्ड पटुकी फेसनबाट सञ्जिता बरालले, फेसन डिजाइनको जुरी अवार्ड काजल क्रियसनबाट काजल शर्माले, वर्षको फेसन मोडल अवार्ड दिक्पाल कार्कीले, वर्षको फेशन कोरीयोग्राफर अवार्ड अश्विनी कान्त झाले, वर्षको फेसन मेकअप आर्टिष्ट अवार्ड टेक राज पाण्डेले, इभेन्ट म्यानेजरको अवार्ड सम्राट प्रसाद शाहले, डान्स कोरीयोग्राफर (पेजेन्ट)को अवार्ड सन्दीप भुजेलले, वर्षको बेस्ट पेजेन्ट डिरेक्टर अवार्ड निशु कान्त झाले प्राप्त गरे ।

स्टार वान इन्टर टेनेमेन्ट प्रालिद्धारा आयोजित सो कार्यक्रमको निर्णायकमा निर्देशक दिवाकर भट्टराई, उमेश गुरुङ, चलचित्र निर्माता ध्रुब प्रसाद न्यौपाने, नृत्यांगना एलिजिबा पुन मगर, गायकहरू चेतन राई, रमेश पाठक, हेमन्त शिशिर, महेन्द्र राज बराल र म्युजिक भिडियो निर्देशक केशब राज भट्ट थिए । सरिता भारतीको संयोजन एवम् बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न समारोहमा गायक डेविड शंकर, ओम सुनार, रमेश पाठकले आफ्ना चर्चित गीतबाट कार्यक्रममा रौनक बढाए ।