८ मंसिर २०८१, शनिबार
‘आच्छु ! के सारो चिसो, चिसो त अचाक्ली पो बढ्यो त, तापक्रम माइनसमै भयो कि क्या हो ?’ –सोमबारदेखि काठमाडौंका अधिकांश भेगमा यस्तै चर्चा सुनियो । जल तथा मौसम विज्ञान विभाग, त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. सुनिल आचार्यका अनुसार तापक्रमको मात्रा सबै ठाँउमा एकै किसिमको हुदैन । अझ शहरी तथा औद्योगिक क्षेत्र र ग्रामीण आवसिय क्षेत्रमा हुने तापक्रमको अवस्था धेरै थोरै फरक पर्छ नै । तर हामी सञ्चारमाध्यममा सुनेर एउटै मान्यता बनाउँछौ ।
आम सर्वधारणले चासो लिएझैं सोमबारदेखि काठमाडौंमा यस वर्षकै चिसो बढेको छ । सोमबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । सञ्चार माध्यमले पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरको स्टेसनलाई आधार मानेर तापक्रमको खबर सार्वजनिक गरेको पाइन्छ ।
महाशाखाका अनुसार हरेक दिन बिहान पौने ९ र बेलुका ६ बजे विमानस्थलको विवरणलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको छ । सोही विवरण सञ्चारमाध्यमबाट सार्वजनिक हुने गर्दछ । सह प्राध्यापक डा. सुनिल आचार्य यो तथ्याङ सबैका लागि उपयूक्त नहुन सक्दछ । त्यसकारण पनि यो तथ्याङ धेरैका लागि पत्यार लाग्दैन । ‘चिसो कारण तापक्रममात्र पनि होइन तुसारो हावाको गति र शीतले प्रभाव पारेको हुन्छ ।’ आचार्य भन्छन् ।
विज्ञका अनुसार, विमानस्थलको स्टेसनले काठमाडौं उपत्यकाभरको मौसमी विवरण अद्यावधिक गर्दैन, त्यसैले तापक्रमको खबरमा शंका गर्ने ठाउँ पर्याप्त रहन्छ । काठमाडौंको मध्य भेग, खुला चौर, गल्छी, पहाड आसपासका वस्ती र अन्यत्रको तापक्रम फरक हुने मौसमविद्हरु स्वीर्काछन् । एउटा स्टेसनको मौसमी विवरण समग्र उपत्यकाका लागि व्यावहारिक हुन्छ र भन्ने प्रश्नमा महाशाखा प्रमुख सरजुकुमार वैद्य भन्छन्– ‘पक्कै पनि व्यावहारिक होइन, हामीले अन्तर्रा्ष्ट्रिय प्रचलनलाई अभ्यास गर्दै औसत विवरण सार्वजनिक गर्दै आएका छौं ।’ विमानस्थलको स्टेसन र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर स्थित जल तथा मौसम विज्ञान विभागको अटोमेटिक वेदर स्टेसन पनि सधै एउटै देखिदैन ।
विश्व मौसम संगठन (डब्ल्यूएमओ) ले कुनै भूगोल र क्षेत्र विशेषलाई आधार मानेर मौसमी विवरण सार्वजनिक गर्दै आएको अभ्यासलाई नेपालमा पनि अनुशरण गर्दा समग्र क्षेत्र समेट्न नसकिएको आचार्यको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग मातहत देशभर ५ सयभन्दा बढी वर्षा मापन स्टेसन छन् भने १ सय ४० का हाराहारीमा तापक्रम अद्यावधिक गर्ने केन्द्र छन् । तर यसले सकुसल काम गर्न नसकेको विभागका कर्मचारी बताउछन् ।
काठमाडौंमा विमानस्थलसहित पानीपोखरी, थानकोट, ललितपुरको खुमलटार र गोदावरी, भक्तपुरको नगरकोट र भक्तपुरमा तापक्रम अद्यावधिक गर्ने स्टेसन छन् । उपत्यकाका सबै अटोमेटिक वेदर स्टेसन प्रणालीमा आधारित नभएकाले सूचना एकीकृत गर्न व्यावहारिक नहुने मौसमविद्हरुको तर्क छ । ‘थानकोट र खुमलटारको अटोमेटिक वेदर स्टेसन भए पनि प्रायः प्राविधिक समस्या आइरहन्छ, अयन्त्रका स्टेसनको विवरण अद्यावधिक गर्न प्रत्यक्ष सोही ठाउँमै पुग्नुपर्ने भएकाले व्यावहारिक कठिनाइ छ’ –महाशाखाका एक मौसमविद्ले भने ।