११ आश्विन २०८३, आईतवार
महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको बताए । उनले भने, ‘घरमै सुरक्षा दिन्छौं ।’


आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका बेला प्रहरी उनको महाराजगञ्जस्थित निवासमा पुगेर नियन्त्रणमा लिएको थियो । प्रहरी अधिकारीहरूले जबरालाई उनीमाथी सुरक्षा खतरा रहेको बताएका थिए । तर जबराले आफूलाई त्यस्तो कुनै सुरक्षा खतराबारे जानकारी नभएको भन्दै घरमै थप सुरक्षाकर्मी खटाइदिन प्रहरीसँग आग्रह गरेका थिए ।
प्रहरीले जबरालाई औपचारिक रूपमा पक्राउ गरिएको हो कि उनको सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने अझै स्पष्ट पारिसकेको छैन् । प्रहरीले सुरुमा उनलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको थियो । तर पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुरक्षा चुनौतीका कारण उनलाई सुरक्षित स्थानमा लगिएको बताएको छ ।
प्रहरीले अहिलेसम्म त्यो सुरक्षा चुनौती के थियो, कसबाट वा केबाट खतरा थियो र जबरालाई घरबाटै लिएर जानुपर्ने अवस्था किन आयो भन्नेबारे सार्वजनिक रूपमा विस्तृत जानकारी दिएको छैन । त्यस्तै, जबराविरुद्ध कुनै आपराधिक अनुसन्धान वा मुद्दा अघि बढाइएको छ कि छैन भन्ने पनि स्पष्ट छैन ।