२२ आश्विन २०८३, बिहीबार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोेकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।


महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।
दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ । प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन ।
त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ ।
काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणको लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ । महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ ।
यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने छ ।