१७ कार्तिक २०८३, सोमबार
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालतमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्यतथ्य छानबिन गर्न संसदीय समिति गठनको माग उठाउन पार्टीको संसदीय दललाई निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सहभागी हुँदै महामन्त्री पौडेलले उक्त प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्न दललाई निर्देशन दिएका हुन्।


‘अदालतमा भइरहेको बिचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ,’ पौडेलले भने, ‘पार्टीका तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ।’
महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने तथा कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याउने घटनाबारे पनि संसद्मा छलफल हुनुपर्ने बताएका छन्।
उनले अदालतको बिचौलिया प्रकरणसहित पछिल्ला घटनाक्रमबारे छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वान गर्नसमेत संसदीय दललाई निर्देशन दिएको जानकारी दिए।