१९ कार्तिक २०८३, बुधबार
सरकारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कार्की प्रहरी संगठनको नेतृत्वबाट बाहिरिएका छन् ।


सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मुलुकको वर्तमान विशेष परिस्थितिमा शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा परामर्श र सल्लाह दिन नयाँ पद सिर्जना गरिएको जानकारी दिए ।
‘वर्तमान विशेष परिस्थितिमा मुलुकको शान्ति सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक परामर्श र सल्लाह दिन प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद प्रधानमन्त्रीको कार्यालयमा सिर्जना गर्ने र उक्त पदमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय भएको छ,’ उनले भने, ‘कारबाही होइन, नयाँ जिम्मेवारी फेरबदल भएको हो ।’
मन्त्रिपरिषद् बैठकले कार्कीको स्थानमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।