७ मंसिर २०८३, आईतवार
प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आज आइतबार नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।


प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । सोही दिन उनले नयाँ दिल्लीस्थित राजघाटमा महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम छ। भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आजै प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् ।
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम छ । दुई देशका प्रधानमन्त्रीबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्न विभिन्न समझदारीपत्र एमओयू आदानप्रदान गर्ने कार्यक्रम छ ।
भ्रमणका अवसरमा नेपाल-भारत बिजनेस फोरमको छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ। कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले अवलम्बन गरेका नीति तथा थप लगानी आकर्षित गर्ने प्रयासबारे जानकारी गराउनेछन् ।
कार्यक्रममा भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्नुका साथै नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल हुनेछ । प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकारलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ ६ बजेर ३५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।