देउवाले गरे सभापतिका चयनका लागि मतदान

होमल्याण्ड खबर

२०७८ मंसिर २८ गते, मंगलवार १७:०३ मा प्रकाशित

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा साढे ३ बजेदेखि मतदान सुरु भएको हो ।

मतदानस्थल पुगेर सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले मत खसालेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।  यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्न मतदानस्थलतर्फ लागेका छन् ।

पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिष्पर्धा हुँदै छ ।

दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ४६७९ खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको थियो ।

समितिका अनुसार सभापतिका उम्मेदवार देउवाले २२५८ मत ल्याए भने कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन्  ।