प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ मंसिर २९ गते, बुधबार १०:४० मा प्रकाशित

 लामो समयपछि प्रदेश नम्बर २ को प्रदेशसभा बैठक बुधवारका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको आठौं अधिवेशन बुधवार बिहान ११ बजेको लागि आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार बुधवार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन लम्बिएका कारण कांग्रेसका प्रदेशसभा सदस्य महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना छ । प्रदेश सभाको आठौं अधिवेशनबाट प्रदेशको नामकरण र राजधानीको प्रस्ताव टेबल हुनेछ ।