प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एजेण्डा एमसीसी

होमल्याण्ड खबर

२०७८ पुष ३ गते, शनिबार १८:३० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बैठकमा बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

बैठक आइतबार दिउँसो ४ बजेका बस्‍ने भएको छ। बैठकको एजेण्डामा संसद्को अवरोध हटाउने र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ।

सरकारले संसद्को चालु अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्ने तयारी गरेको छ। तर नेकपा एमालेले आफूले सांसदहरुलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ ।

एमसीसीको मुख्यालयले पनि एमसीसी पास हुने अपेक्षासहित तीन महिनाको समयसीमा थप गरेको छ। उक्त समयभित्र एमसीसी पास गरेर कार्यान्वयन चरणमा नगएको अवस्थामा नेपालसँगको सम्झौता खारेज गरिने जनाइएको छ।