माओवादीको राष्ट्रिय सम्मेलन : यी ३ विषयमा केन्द्रित हुने

होमल्याण्ड खबर

२०७८ पुष ९ गते, शुक्रबार १२:१९ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन मुख्य ३ कार्ययोजनामा केन्द्रित हुने भएको छ। पर्सी आइतबार (पुस ११ देख्रि) सुरु हुने राष्ट्रिय सम्मेलनमा राजनीतिक प्रतिवेदनमाथिको छलफल र अनुमोदन, अन्तरिम विधान–२०७८ अनुमोदन र केन्द्रिय नेतृत्व चयनमा सम्मेलन केन्द्रित हुने भएको हो ।

राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने कार्यसूची हुने माओवादी केन्द्रका नेता देव गुरुङले जनाएका छन् ।

गुरुङका अनुसार अध्यक्ष दाहालले प्रतिवेदनमार्फत माओवादीबाट अलग भएका नेताहरूलाई पार्टीमा फर्कन आग्रह गर्ने तयारी गरेका छन् । दाहालले समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत समाजवाद उन्मुख समृद्धिको कार्यनीति अगाडि सार्दै छन्।

यस्तै, सम्मेलनले अन्तरिम विधान–२०७८ अनुमोदन र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने तयारी छ। अन्तरिम विधानमा राष्ट्रिय महाधिवेशनसम्मका लागि अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय समितिको परिकल्पना गरिएको छ।

राष्ट्रिय सम्मेलनमा माओवादी नेता कार्यकर्ताको जीवनशैली सुधार्ने विषयदेखि कुनै समय पहिलो पार्टी बनेको माओवादी किन तेस्रो स्थानमा खुम्चियो भन्ने विषयमा पनि समिक्षा हुने उनले बताए ।

सहमतिबाटै पदाधिकारी चयन हुने स्थायी कमिटी सदस्य देव गुरुङले दाबी गरेका छन् । उनले सहमतिबाटै कम्युनिष्ट पार्टीको अभ्यास अनुसार नेतृत्व र पदाधिकारी छानिने बताए ।