३० फाल्गुन २०८२, शनिबार
कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले २ वटा विषयमा छलफल र निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले राष्ट्रियसभा चुनाव र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेको हो ।
कार्कीका अनुसार बैठकले गठबन्धनबाट राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन अपील गरेको छ । आगामी माघ १२ गते १९ सिटमा हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय भएको हो ।


राष्ट्रियसभामा गठबन्धन सम्बद्ध दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच तलमेल भएको छ । जसमा काँग्रेसले ६, जसपाले २, जनमोर्चाले १, माओवादी र एकीकृत समाजवादीले ५–५ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवार जिताउने गरी रणनीति बनाएर जाने बैठकले निष्कर्ष निकालेको कार्कीले बताए ।
मन्त्री कार्कीका अनुसार बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणको शुभकामना दिएको छ । प्रधानमन्त्री देउवा ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुन यही पुस २५ गते भातर जाँदै छन् ।