३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतले पुनरवहाली गराएका १४ जना जनप्रतिनिधिविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। न्यायाधीशहरू दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको पूर्णइजलासमा प्रचण्डको रिटमाथि सुनुवाइ हुँदैछ । प्रचण्डले गत साउन ७ गते अन्तरिम आदेश खारेजको माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
तत्कालीन माओवादीबाट निर्वाचित भएका तर, पछिल्लो समय एमालेमा प्रवेश गरेका उनीहरूलाई साधारण सदस्यबाटै हटाइएको थियो। माओवादीले २ नगर प्रमुख,६ उपप्रमुख,१ नगरपालिका सदस्य, १ गाउँपालिका अध्यक्ष, ४ वडाअध्यक्ष गरी १४ जनालाई कारबाही गरेको थियो।


माओवादीले निष्कासन गरेको आधारमा निर्वाचन आयोगले उनीहरुलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको थियो। निवार्चन आयोगको सो निर्णयविरुद्ध उनीहरु सर्वोच्च पुगेका थिए।
रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा कारबाहीमा परेका छन्। यस्तै, रौतहटको देवाही गोनाही नगरपालिका उपप्रमुख परिनया देवी, मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल, फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत गएका थिए।
पछि उनीहरु सबैजनालाई अदालतले विभिन्न मितिमा अन्तरिम आदेश जारी गर्दै पुनर्वहाली गरेको थियो। अदालतको सो निर्णय खारेजको माग गर्दै अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।