कांग्रेस केन्द्रीय समितिकाे बैठक बस्दै, यी एजेण्डा माथि छलफल हुदै

होमल्याण्ड खबर

२०७८ माघ १४ गते, शुक्रबार १०:४६ मा प्रकाशित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । अपरान्ह तीन बजे भर्चुअल माध्यममा बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यलाई आमन्त्रण गरिएको छ । बैठकमा केन्द्रीय कार्य सम्पादन समिति गठनका विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

यसैगरि कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने विषयमा छलफल हुने बताए । ‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बस्न नसकेको अवस्थामा महत्त्वपूर्ण निर्णय गर्न सकिन्छ,’ कांग्रेस महामन्त्री थापाले भने, ‘बैठकको मुख्य एजेन्डा कार्यसम्पादन समिति गठन हो ।

१४औँ महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् । कार्यसम्पादन समितिमार्फत केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्त्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति परेको हो ।

कांग्रेस विधानअनुसार कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी स्वतः सदस्य हुने व्यवस्था छ । कांग्रेसमा १३ जना पदाधिकारी छन् । कोषाध्यक्ष तोकिएको छैन । यस्तै, सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्तलाई ध्यानमा राखी केन्द्रीय समितिका ३१ जनाको नाम केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्न सक्ने विधानमा व्यवस्था छ ।

बैठकमा आगामी स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन र अवरुद्ध संसद् सुचारुका विषयमा पनि छलफल हुने एक केन्द्रिय सदस्यले बताए ।