१ चैत्र २०८२, आईतवार
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहाललाई भेट्न बिहीबार बिहान खुमलटार पुगेका नेता कोइरालाले स्थानीय तहमा गठबन्धन स्वीकार नगरिने जवाफ दिएका छन् ।
कांग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच गठबन्धन, एमसीसी, संसद खुलाउने लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ ।


कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार प्रचण्डसँगको भेटमा कोइरालाले संसदलाई बन्धक बनाउन नहुने धारणा राखेका थिए । ‘संसद्लाई बन्धक नबनाउन र संसदबाटै सवै कुराको छिनोफानो गर्न कोइरालाले अध्यक्ष प्रचण्डलाई आग्रह गरेको थपलियाले बताए ।
त्यस्तै, थपलियाका अनुसार प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर प्रस्ताव गरेको थिए । उक्त प्रस्ताबलाई कोइरालाले अस्वीकार गरेका थिए ।
‘वडा वडामा गठबन्धन सम्भव छैन । केन्द्रबाट तोकेर एलाइन्समा चुनाव लड्ने कुरा म अन्तिमसम्म विरोध गर्छु, बरु चुनावपछि सहकार्य गर्न सकिन्छ’, प्रचण्डलाई कोइरालाको जवाफ थियो ।