सभामुखलाई संसदमा एमसीसी रोक्ने अधिकार नभएको ओलीको दावी

होमल्याण्ड खबर

२०७८ माघ २८ गते, शुक्रबार १५:३० मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी संसदमा पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका छन् ।

शुक्रबार नेकपा एमालेद्वारा आयोजित ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ शुभारम्भ कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसीसी पेश गर्नबाट रोक्ने अधिकार नभएको बताएका हुन् ।

उनले भने, ‘संसदमा एमसीसीस पेश नगरी नै सभामुखले रोक्न मिल्दैन, अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले । पहिलेको सभामुखले पनि अनाधिकृत क्रियाकलाप गरेको हो । अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा शरम लाग्छ । सरकार यसप्रति गम्भीर होस भन्न चाहन्छु ।’

यसअघिका सभामुख कृष्णबहादुर महराले पनि संसदको अधिकारभन्दा बाहिर गएर एमसीसीलाई अनाधिकृत रुपमा रोकेको ओलीको भनाइ छ । एमसीसी संसदमा पेश भएपछि संसदले पारित गर्ने कि नगर्ने भन्ने छुट्टिने भन्दै संसदमा एमसीसी पेशै गर्न नदिनु ठीक नभएको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले एमसीसीको विषयले मुलुकलाई गम्भीर भूराजनीतिक द्वन्द्वमा फसाइएको पनि बताए । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका नेता फरक फरक कुरा गर्ने र नेपाली जनतासँग पनि फरक फरक कुरा गर्ने गरेको भन्दै उनले त्यसको कडा आलोचना गरे ।