१ चैत्र २०८२, आईतवार
पर्यटनमन्त्री प्रेम आले फेरि विवादमा तानिएका छन् । उनले एक जना व्यक्तिसँग मन्त्रीको पदीय हैसियत बिर्सेर अश्लील गाली गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भारतको मुम्बईबाट फोन गरेका एक जना सुदूरपश्चिमकै व्यक्तिले मन्त्री आलेलाई काठ तस्करको आरोप लगाएका छन् साथै उनी काठ तस्करकै आरोपमा नौ महिनासम्म जेल बसेको आरोप लगाएका छन् । फोनमा ती व्यक्तिले ‘तपाईबाट यस्तो छैन’ भन्दै कुराकानीको सुरुवात गरेका छन् ।
यसले मन्त्री आलेमाथि अर्को प्रश्न उब्जिएको छ । उनीमाथि काठ तस्करीको आरोप नौलो होइन । तर काठ तस्करीको आरोप लागेर पनि ९ महिना जेल बसेको आरोप भने गम्भीर हो । यदि यो कुरा पुष्टि भएको खण्डमा मन्त्री आलेको जागिर जान सक्छ । संविधानमा फौजदारी कसुरमा सजाय भोगेका व्यक्ति मन्त्री बन्न अयोग्य हुने उल्लेख छ । त्यसमाथि मन्त्री आले पटक पटक विवादमा आइरहने व्यक्ति हुन् । यसअघि ओली सरकारका पालामा वनमन्त्री रहेका आलेले ‘रुखले कार्बनडाइअक्साइड दिन्छ’ भन्दै हावादारी अभिव्यक्ति दिएका थिए ।


त्यतिबेला कोरोना संक्रमणको बेला अक्सिजन सिलिण्डर वितरण गर्दा उनले आफ्नो फोटो समेत टाँसेर सुदूरपश्चिमका पहाडी जिल्लामा स्वास्थ्य सामग्री वितरण गरेका थिए । त्यतिबेलादेखि विवादमा रहँदै आएका मन्त्री आलेको पछिल्लो अश्लील गालीसहितको अडियो भाइरल हुँदा थप आलोचना बढेको छ । सामाजिक सञ्जालमा कतिपयले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्ने माग पनि उठाएका छन् ।