शुक्रबार दिउँसो १ बजे बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०७८ फाल्गुन ४ गते, बुधबार १४:११ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक दुई दिनलाई स्थगित भएको छ । यही फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

सात पटकसम्म सूचना टाँसेर स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको थियो। निर्धारित समयभन्दा आधा घण्टा ढिलो सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राख्यो। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए।

सभामुखले अवरोध रोक्न र संसद् सुचारु गर्न सहयोग गर्न बारम्बार आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि बैठक अघि बढाए। नाराबाजी चलिरहेका बेला उनले कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए। त्यसैगरी सभामुखले विभिन्न शोक प्रस्ताव पनि पेश गरे।

यसअघि संसद् बैठक सातपटक सूचना टाँसेर स्थगित भएको थियो। आजको बैठकमा एमसीसी टेबुल गर्ने तयारी थियो। तर, सत्तारुढ दलहरुबीच सहमति नजुटेपछि एमसीसी टेबुल हुन सकेन ।