प्रधानन्यायाधीश जवराविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार मिति तोकिने

होमल्याण्ड खबर

२०७८ फाल्गुन २७ गते, शुक्रबार १४:१४ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। महाभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्मा छलफल प्रक्रिया अघि बढ्ने भएको हो ।

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोगमाथि छलफल हुने दिन र समय तोक्ने कार्यसूची छ ।

यसअघि प्रतिनिधिसभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो। समितिमा विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्णभक्त पोखरेल, मिनबहादुर विक, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह सदस्य छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले १ फागुनमा प्रधान न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्तावमा ९८ सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्ताव दर्ता भएसँगै राणा निलम्बनमा परेका छन् ।