१ चैत्र २०८२, आईतवार
निर्वाचन आयोग र १७ राजनीतिक दलहरूबीचको छलफल सकिएको छ । बैठकमा आयोगले अहिलेसम्म स्थानीय निर्वाचनका लागि गरेको तयारीबारे ब्रिफिङ्ग गरेको थियो । आजको बैठकमा निर्वाचनको फेहरिस्त प्रस्तुबाहेक नयाँ विषयमा छलफल नभएको माओवादी नेता लीलामणि पोखरेलले बताए ।
‘आज केही नयाँ विषयहरू रहेनछन्,’ नेता पोखरेलले भनेका छन्, ‘आयोगको तयारीबारेमा हामीले बुझ्यौँ र हामीले पनि केही सुझाव दियौँ ।’


यस्तै राजनीतिक दलका नेताहरूले निर्वाचन खर्च सीमित भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कतिपय नेताहरूले भने निर्वाचन कम खर्चमा व्यवस्थित तरिकाले गर्नुपर्ने बताएको उनले बताए । नेता पोखरेलले भने ‘हामीले चाहिँ कम खर्चमा सुव्यवस्थित तरिकाले निर्वाचन सकाउने भनेका छौँ । यसमा पनि आयोगले विचार तथा छलफल गर्ने भनेको छ ।’
यस्तै निर्वाचन आयोगले साइबर ब्यूरो बनाउने भएको छ । आयोगले त्यसबारे दलहरूको रायसमेत मागेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झाले बताए । ‘आयोगले साइबर ब्यूरो बनाउने भएको छ,’ उनले भने, ‘त्यसको जानकारी हामीलाई पनि गराइयो र यसमा हामीले आ(आफ्नो तर्फबाट सुझा दिएका छौँ ।’