नियम र आचासंहिता बनाउदा निर्वाचन आयोग गठबन्धनसंग मिलेको ओलिको आरोप

होमल्याण्ड खबर

२०७८ चैत्र ७ गते, सोमबार १४:१७ मा प्रकाशित

एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनसँग मिलेर नियम र आचारसंहिता बनाएको भन्दै निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन् । काठमाडौंमा पार्टीको पोलिट्ब्युरोको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आरोप लगाएका हुन् ।

आयोग र गठबन्धनबीचको सल्लाहमा नियम, आचारसंहिता र मतपत्रको रंङकोे टुंगो लगाएको आरोप ओलीको छ । एमालेको स्थानीय तहमा वर्चश्व रहेकाले पदाधिकारीले राजीनामा दिएर मात्र उम्मेदवारी दिनुपर्ने नियम बनाएको उनले आरोप लगाउँदै भने , ‘हामीसँँग छलफल गर्नु पर्दैन । सत्तारुढ गठबन्धन र आयोगबीच छलफल हुने, हामीसँग गर्नुनपर्ने,’ उनले भने, ‘स्थानीय तहमा एमालेको वर्चश्व छ । गठबन्धनको इशारामा आयोगले स्थानीय तहको पदाधिकारीमा उम्मेदवारी दिन बहालवाला पदाधिकारीले राजीनामा दिनुपर्ने बनाइयो ।’

एमालेविरुद्ध आयोग प्रयोग भइरहेको भन्दै ओलीले मतपत्रको रङ हरियो बनाउने विषयप्रति पनि आपत्ति जनाए । आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सचेत भएर स्थानीय तहको निर्वाचनमा सहभागी हुने ओलीको भनाइ छ ।