तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने दाहालको दाबी

होमल्याण्ड खबर

२०७८ चैत्र १० गते, बिहीबार १४:५५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन् । विहीबार जिल्लाको माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए ।

स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने भन्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए । आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो ।

गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । माडी उनको निर्वाचन क्षेत्र हो । पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको दाहालले बताए ।

सो स्थानमा ८६ घर रहेका छन् । संसद् विकास कोष, माडी नगरपालिका र दाताहरूको सहयोगमा ती घर निर्माण गरिएका हुन् । यसअघि उनले रु पाँच करोड ३७ लाखमा सम्पन्न माडी नगरपालिका–२ को पाँच किलोमिटर लामो चिरौली सडक उद्घाटन गरेका थिए । गत वर्ष उनले सो सडकको शिलान्यास गरेका थिए ।

सङ्घीय सरकार र माडी नगरपालिकाको बजेटबाट सडक निर्माण गरिएको हो । दाहालले आजै माडी नगरपालिका–७ र ८ जोड्ने हुलाकी सडकमा निर्माण गरिएको परुईखोलाको पुलको उद्घाटन गरेका थिए ।

दाहालको निर्वाचन क्षेत्र हेर्दै आएकी निशा न्यौपानेका अनुसार सो सडकमा निर्माणाधीन १३ वटा पुलमध्ये गत साल एउटा सम्पन्न भएको थियो । बाँकी ११ पुल निर्माणाधीन अवस्थामा रहेका छन् । माडीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर दाहाल दिउँसो भरतपुर फर्कने कार्यक्रम रहेको छ ।