चिनियाँ विदेशमन्त्री वाङ आज तोकिएको समयभन्दा दुई घण्टा अघि नै नेपाल आइपुग्ने

होमल्याण्ड खबर

२०७८ चैत्र ११ गते, शुक्रबार ११:३१ मा प्रकाशित

चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । विदेशमन्त्री वाङ तोकिएको समयभन्दा करिब दुई घण्टाअघि नेपाल आईपुग्ने भएका हुन् ।
विदेशमन्त्री वाङ बेलुकी ५ बजे आउँने कार्यतालिका भन्दा दुई घण्टा अर्थात ३ बजे नेपाल आईपुग्ने भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने उनी विशिष्ट व्यक्ति हुन् । विदेशमन्त्री वाङ तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका हुन्। विदेशमन्त्री वाङको भ्रमणका बेला नेपाल र चीनबीच द्विपक्षीय हितलगायत विषयमा कुराकानी हुनेछ भने विभिन्न परियोजनालगायतबारे पनि कुराकानी हुनेछ।

नेपालले चिनियाँ पक्षसँग नाकामा भएको आवातजावतको समस्या, चीनमा एमबिबिएस पढेर इन्टर्न गर्न नपाएका विद्यार्थीको समस्या लगायत विषय पनि उठाउने भएको छ। साथसाथै बिआरआई परियोजनालगायत विषयमा पनि कुराकानी हुनेछ।

विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ। चिनियाँ बिदेशमन्त्री वाङ चैत १३ गते साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ । विदेशमन्त्री वाङ यसअघि २०७६ साल भदौ महिनामा पनि नेपाल भ्रमणमा आएका थिए ।