१ चैत्र २०८२, आईतवार
सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।


त्यस्तै बैठकले अख्तियारका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ, भने कतारको राजधानी दोहामा हुने दोहा फोरमको २० औं संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृत प्रदान गरेको छ ।
त्यस्तै बैठकले नेपाल राजस्व परामर्श बिकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाई नियुक्त गरेको छ । त्यस्तै मन्त्रिपरिषद्ले नेपाल र चीनवीच ग्रीड आवद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।
बैठकले दूग्ध विकास संस्थानको महाप्रवन्धक पदमा संजिव झालाई नियुक्त गरेको छ, भने जापानका लागि नेपालका पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्राप्त हुने स्म्मान ग्रहण गर्न स्वीकृती दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
मन्त्रीपरिषद्ले लोकसेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसबमोजिम बिभिन्न सेवा, समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ भने दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।