१ चैत्र २०८२, आईतवार
आशन्न स्थानीय निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्न दलहरुले प्रतिबद्धता जनाएका छन्। आयोगले आज बोलाएको बैठकमा दलका प्रतिनिधिहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
आयोगले आचारसंहिताबारे छलफल गर्न र दलहरुको प्रतिबद्धता लिन ७९ वटा दललाई बोलाएको थियो। निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।


यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो। त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको हो। आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
आयोगले छलफल गर्न भनेर बोलाएको तर बोल्न नदिएको भन्दै साना दलले विरोधसमेत गरेका थिए। आयोगका आयुक्तले ‘हामीले तपाईंहरुलाई हस्ताक्षर गर्न बोलाएको हो, छलफल गर्न बोलाएको हैन’ भनेपछि दलका प्रतिनिधिहरु आक्रोशित बनेका हुन्।
छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन्। सत्तारुढ गठबन्धन र ठूला दलको आदेशमा आयोग चलेको भन्दै साना दलले आयोगका पदाधिकारीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने दलहरुकै रायसल्लाह बमोजिम प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको बताए। उनले भने, ‘उहाँहरुकै रायसल्लाह र प्रचलित ऐनबमोजिम बनाइएको आचारसंहितामा हस्ताक्षर गर्न बोलाइएको हो। बाँकी छलफलका लागि अरु कार्यक्रम हुन्छ्न्।’