मि टु को अर्को घटना सार्वजनिक: ७ वर्षअघि प्रिन्सिपलबाटै किशोरी बलात्कृत

होमल्याण्ड खबर

२०७९ जेष्ठ ८ गते, आईतवार १६:०३ मा प्रकाशित

राजधानीका सडकमा बलात्कारीमाथि कारवाहीको माग गर्दै विरोध प्रदर्शन तीव्र भइरहँदा सुनसरी इटहरीको घर भएकी २२ वर्षीया युवतीले आफूमाथिको बलात्कार घटना सार्वजनिक गरेकी छिन्। उनले १५ वर्षको हुँदा प्रिन्सिपलबाट पटक–पटक बलात्कृत भएको र प्रहरीमा उजुरी दिँदा पनि न्याय नपाएको खुलासा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लामो विवरण लेख्दै ती युवतीले सात वर्ष पुरानो घटना सार्वजनिक गरेकी हुन्। ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा पढेकी ती युवतीले२०७२–२०७३ तिर  ९ कक्षामा पढ्दाको समयमा प्रिन्सिपलले बलात्कार गरेको उनले खुलाएकी छिन्।

यस्तो छ पीडित युवतीले फेसबुकमा लेखेको आफ्नो घटना

सात वर्षअघिको घटना भएकोले मैले कसैलाई भन्न सकेको थिइन्। त्यतिबेला सानै थिएँ। त्यो बेला कसैलाई भन्ने हिम्मत भएन। अहिले ठूलो भए पनि घटना भएको धेरै ढिला भइसकेकाले घटना सार्वजनिक गर्न सकिन। तर, अहिले सुस्मिताको न्यायको लागि जम्मा भएको भीड देखेर म पनि आफ्नो पीडा पोख्दैछु। मलाई बलात्कार गर्ने बलात्कारीको पर्दाफास गर्दैछु। आशा छ, मैले न्याय पाउनेछु।

घटना २०७२-७३ तीरको आसपासको हो। म इटहरीस्थित ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा पढ्थे। मलाई त्यो बेलाको प्रिन्सिपल राज खड्काले बारम्बार बलात्कार गर्याे। म होस्टेलमा बस्ने गर्थे। म कक्षा ९ मा पढ्थे। त्यतिबेला म १५ वर्षको थिएँ। मलाई एकपटक छातीमा समस्या देखियो। मेरो उपचारको लागि मेरो बुवाले विदेशबाट पैसा पठाउनुभयो। तर, मेरो आमाको खातामा नभई प्रिन्सिपल राज खड्काको एकाउन्टमा पठाउनुभयो।

प्रिन्सिपल राज खड्काले मलाई विद्यालयबाट अस्पताल जान भनेर लग्यो। तर, बाटोमा मलाई अस्पताल लैजानुको सट्टा होटेलमा पो पुर्याईयो। होटलमा पुगेपछि उहाँले मलाई खाना भन्यो। मैले खान मानिन। मलाई अलि नराम्रो फिल भयो। म डराएँ। मरो अनुहारबाट पसिना बग्यो। त्यसपछि उहाँले “यता आऊ गर्मी हुँदैन’’ भन्दै कोठामा लग्यो। कोठामा पुगेपछि उसले चुकुल लगायो। त्यसपछि उसले फेरि मलाई खाना खान कर लगायो। मैले फेरि खान मानिन्। त्यसपछि उसले मेरो स्कुलको जर्सी च्यात्यो। मलाई बलात्कार गर्‍यो।

उसले मलाई नाङ्गो बनाएको थियो। उसले आफ्नो मोबाइलमा मेरो भिडियो खिच्यो। मलाई ब्ल्याक मेल गर्न थाल्यो। र उसले मलाई बोलाउन थाल्यो। उसले बोलाएको ठाउँमा आएन भने बेइज्जत गर्ने धम्की दिन्थ्यो। यो क्रम एसइईसम्म चल्यो। बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेलको कोठामा जता हुन्छ, म एक्लै भएमा उसले त्यही बलात्कार गथ्र्याे। बिदाको दिन घर जान दिएन। यदि घर गएको खण्डमा मेरो पढाई बिग्रन्छ, त्यही भएर होस्टेलमै बस्नुपर्छ भन्थ्यो।

मेरो बुबाले उसको खातामा पैसा किन पठाउनुभयो भने मलाई मेरो घरमा कहिल्यै पठाइएन। मैले राम्रोसँग पढोस् भनेर बुबाले मलाई होस्टेलमा राख्नुभएको थियो। प्रिन्सिपलले पनि होस्टलेमै राम्रो हुन्छ भनेर मेरो बुवालाई भन्नुभयो। यसैले मेरो बुवाले प्रिन्सिपलले खातामा पैसा पठाउनुभयो। उसले मलाई घर जान पनि नदिने गथ्र्याे। आमाबुवाले उसको कुरामा विश्वास गरेर सबै सधैँ होस्टेलमा बस्न दिए। मैले मेरा साथीहरूसँग सबै घटनाहरू सुनाए।

तर, कसैले पत्याएनन्। म बाल्यकालदेखि नै रमाइलो गर्ने खालको थिए। यसैले सबैले मेरो चरित्रलाई दोष दिन्थे। म पीडित हुँ भनेर कसैले विश्वास गरेनन्। कसैले मेरो पक्षमा अडान लिएनन्। लडाइँमा म एक्लै थिएँ। अन्ततः धेरै अत्याचार भएपछि मैले यो प्रिन्सिपल सरको श्रीमतीलाई यो कुरा सुनाए। प्रिन्सिपलकी श्रीमतीले पनि यो कुरा पत्याइनन्।

यस घटनाबाट पीडित भएपछि न्यायको लागि मलाई कसैले साथ दिएन। सबैले मलाई नै दोषी देखाएपछि आत्महत्या गर्ने प्रयास गरे। २ वर्षको अन्तरालमा २ पटक आत्महत्याको प्रयास गरेको थिए। न म म मर्न नै सके, न त मेरो समस्या समाधान नै भयो। एसइई सकेपछि परिवारसँग यो कुरा भन्ने हिम्मत जुटाएको थिएँ। तर भने पनि मैले न्याय पाइन। किनकि त्यो बलात्कारी फरार भयो। म प्रहरीको मा पनि गएँ। तर, प्रहरीले त्यो पनि त्यो बलात्कारीलाई खोज्छु भन्छ। ७ वर्ष भइसक्यो तर बलात्कारी कहाँ छ ? अन्ततः मैले न्याय पाउने आशा गुमाए। प्रहरीकहाँ धाउन छाडेँ । तर, घटनाले बारम्बार मलाई पीडा दिन्छ। जब मैले सामाजिक सञ्जालमा न्यायको लागि याचना गरेको हुँ। त्यो बलात्कारी अहिले काठमाडौँमा कुनै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रहेको सुनेको छु। उसलाई कारबाही होस्, न्याय पाउने आशामा ७ वर्ष पुरानो यो घटना शेयर गरेको छु।