पूर्वप्रधानन्यायाधीश जबराले मागे परिवारसहित आफ्नो सुरक्षाको व्यवस्था

होमल्याण्ड खबर

२०८३ आश्विन १२ गते, सोमबार १३:३५ मा प्रकाशित

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको जिउज्यानको सुरक्षामा चुनौती बढेको भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसँग माग गरेका छन्।
जबराका छोरा सचिनशमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै परिवारको शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेका हुन्।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा आएका विषय तथा शान्ति सुरक्षासम्बन्धी विभिन्न घटनाका कारण आफ्नो परिवारले असुरक्षित महसुस गरिरहेको उल्लेख गरिएको छ।

विगतमा राज्यका विभिन्न अंगमा जिम्मेवारी वहन गरेको र न्यायपालिकाको प्रमुखको हैसियतमा सम्पादन गरेका न्यायिक निर्णयका कारण आफू थप असुरक्षित महसुस गरिरहेको निवेदनमा जनाइएको छ।
जबराले आफ्नो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यका सुरक्षा निकायले विशेष ध्यान दिनुपर्ने भन्दै आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छ ।