मीनेन्द्र रिजालले गरे कांग्रेस उपसभापतिमा उमेदवारी घोषणा

होमल्याण्ड खबर

२०८३ आश्विन २० गते, मंगलवार ११:२४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उमेदवारी दिने घोषणा गरेका छन् । आज (असोज २०) मनोनयनपत्र दर्ता गराउने उनले जानकारी दिए ।

माधवकुमार नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्‌मा उनी संस्कृतिमन्त्री बनेका थिए । सुशील कोइराला नेतृत्वको त्यति बेलाको मन्त्रिपरिषद्‌मा उनी सूचना तथा सञ्चारमन्त्री थिए । उनलाई नेपाली राजनीतिक क्षेत्रमा विद्वान् नेताका रूपमा पनि चिनिन्छ ।

उनले अमेरिकाको न्युयोर्क विश्वविद्यालयबाट व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । उक्त विश्वविद्यालयमा उनले तीन वर्ष पढाएका पनि थिए ।

उपसभापतिमा यसअघि पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीदेखि उद्योगी विनोद चौधरीसम्मले उमेदवारी घोषणा गरिसकेका छन् । उपसभापतिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराई, तत्कालीन उपसभापति धनराज गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, तत्कालीन सहमहामन्त्री जीवन परियारले उमेदवारी घोषणा गरिसकेका छन् ।

वर्तमान उपसभापति पुष्पा भुसालले महिला उपसभापतिमा प्रतिस्पर्धा गर्ने बताएकी छन् । पार्टी प्रवक्ता देवराज चालिसे र चन्द्र भण्डारीले पनि उपसभापतिमा दाबी गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा जारी कांग्रेस महाधिवेशनको बन्दसत्रबाट पार्टीको विधान संशोधन गरी पदाधिकारी र केन्द्रीय सदस्यको संख्या २९७ पुर्‍याइएको छ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई बढाएर २९७ पुर्‍याइएपछि प्रतिस्पर्धीको संख्या समेत बढ्ने भएको छ । उपसभापति यसअघि दुईजना थिए । अब चारजना हुने व्यवस्था गरिएको छ ।