कांग्रेस महाधिवेशन : उमेदवारी दर्ताका लागि यी कागजात अनिवार्य

होमल्याण्ड खबर

२०८३ आश्विन २० गते, मंगलवार १३:२४ मा प्रकाशित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उमेदवारी दर्ता सुरु भएको छ । निर्वाचन समितिले उमेदवारी रुजुका लागि आवश्यक कागजात र प्रक्रियाबारे स्पष्ट पारेको छ ।

इच्छुकले आफूले उमेदवारी दिन चाहेको पदअनुसारको फाराम पूर्ण रूपमा भरेर बुझाउनुपर्नेछ । फाराममा सम्बन्धित पदका लागि तोकिएका महाधिवेशन प्रतिनिधिमध्येबाट प्रस्तावक र समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

आफू उमेदवार भएको पदका लागि प्रस्तावक वा समर्थक बन्न पाउने छैनन् । उमेदवारी दर्ताका क्रममा सम्बन्धित पदका लागि तोकिएको शुल्क बुझाएको बैंक भौचर वा रसिदसमेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । बैंक भौचरमा उमेदवारको नाम स्पष्ट रूपमा खुलेको हुनुपर्ने निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, उमेदवारले आफू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्र र नेपाल सरकारले जारी गरेको आधिकारिक परिचयपत्रको प्रतिलिपि पनि साथमा राख्नुपर्नेछ । समावेशी क्लस्टरबाट उमेदवारी दिने उमेदवारले आफू सम्बन्धित क्लस्टरमा पर्ने प्रमाणित गर्ने प्रमाणपत्रको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

उमेदवारी रुजुका क्रममा उमेदवारको क्रियाशील सदस्यताको निरन्तरतासम्बन्धी सिफारिस समेत आवश्यक पर्नेछ । क्रियाशील सदस्यताको निरन्तरता प्रमाणित गर्ने सम्बन्धित सिफारिस उमेदवारी फारमसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले उमेदवारी दर्ताका क्रममा फाराम, प्रस्तावक–समर्थक, शुल्कको भौचर, महाधिवेशन प्रतिनिधि प्रमाणपत्र, आधिकारिक परिचयपत्र, क्लस्टर प्रमाणपत्र र क्रियाशील सदस्यताको निरन्तरता सिफारिसलगायत सबै कागजात पूरा भए–नभएको रुजु गर्नेछ । यसअनुसार कांग्रेसको केन्द्रीय नेतृत्वमा उमेदवारी दिन चाहनेहरूले फारामदेखि आवश्यक प्रमाणपत्र र शुल्कको भौचरसम्म सबै कागजात पूरा गरेर मात्रै उमेदवारी दर्ता गर्नुपर्नेछ ।