११ कार्तिक २०८३, मंगलवार
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटिएपछि चितवनले रोमाञ्चक जित निकालेको हो।
विराटनगरको हारमा चितवनका बलर कमलसिंह ऐरी निर्णायक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले २ विकेट लिए भने रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले समान एक–एक विकेट हात पारे।


एक समय जितनजिक पुगेको विराटनगरले अन्तिम तीन ओभरमा सम्हालिएर खेल्न सकेन। जितका लागि १८ बलमा २१ रन आवश्यक रहेका बेला १८औँ ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएपछि विराटनगर दबाबमा परेको थियो। उनले रुपेश सिंह र प्रतिश जिसीलाई खाता खोल्न नदिई पभेलियन फर्काए। त्यसपछि १९औँ ओभरमा रिजन ढकालले थप दुई विकेट लिएपछि चितवनको जित सुनिश्चित भयो।
आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, शुभम रञ्जानेले १० र चरिथ असलंकाले आठ रन बनाए। कप्तान सन्दीप लामिछाने भने खाता नखोली आउट भए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका ओपनर डाविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५१ बलको सामना गर्दै उक्त रन बनाएका हुन्। मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देवले १५ बलमा १२ रन बनाए भने अर्जुन साउद नौ बलमा तीन रन बनाएर आउट भए।
मलान १३औँ ओभरको दोस्रो बलमा आन्द्रे रसेलको बलमा आउट भएका थिए। त्यसपछि कप्तान रवि बोपारा र डान मोस्लीले चितवनको इनिङ्स सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि अविजित ६७ रनको साझेदारी गरे। रवि ३२ र डान २९ रनमा अविजित रहे।
चितवनले बनाएको १५७ रनको लक्ष्य जोगाउँदै बलरहरूको उत्कृष्ट प्रदर्शनमा आठ रनको जित निकालेको हो।