प्रधानमन्त्री शाहको भारत भ्रमणबारे भारतीय विदेश मन्त्रालयले जारी गर्‍यो विज्ञप्ति

होमल्याण्ड खबर

२०८३ मंसिर ५ गते, शुक्रबार १५:०० मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न दुईदिने राजकीय भारत भ्रमणबारे भारत सरकारले औपचारिक जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते (२२–२३ नोभेम्बर, २०२६) नयाँ दिल्ली आउन लागेको पुष्टि गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । वार्तामा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूको बृहत् समीक्षा हुनुका साथै पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा गहन छलफल हुनेछ । भ्रमणकै क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

​सन् २०२६ मार्चमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो ।

विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत एवं जनस्तरको बलियो सम्बन्धमा आधारित प्रगाढ मित्रता रहेको उल्लेख छ । पछिल्ला वर्षहरूमा दुई देशबीच व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोतका साथै भौतिक एवं डिजिटल कनेक्टिभिटीका क्षेत्रमा उल्लेख्य प्रगति भएको भारतले जनाएको छ । यसका अतिरिक्त पछिल्लो समय स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको विज्ञप्तिमा समेटिएको छ ।

​भारतले आफ्नो ‘छिमेकी पहिले’ (नेबरहुड फर्स्ट) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै यस भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।