५ मंसिर २०८३, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न दुईदिने राजकीय भारत भ्रमणबारे भारत सरकारले औपचारिक जानकारी गराएको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते (२२–२३ नोभेम्बर, २०२६) नयाँ दिल्ली आउन लागेको पुष्टि गरेको हो ।
सन् २०२६ मार्चमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो भारत भ्रमण हो ।


विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत एवं जनस्तरको बलियो सम्बन्धमा आधारित प्रगाढ मित्रता रहेको उल्लेख छ । पछिल्ला वर्षहरूमा दुई देशबीच व्यापार तथा वाणिज्य, विकास साझेदारी, ऊर्जा तथा जलस्रोतका साथै भौतिक एवं डिजिटल कनेक्टिभिटीका क्षेत्रमा उल्लेख्य प्रगति भएको भारतले जनाएको छ । यसका अतिरिक्त पछिल्लो समय स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा समेत द्विपक्षीय सहकार्य विस्तार हुँदै गएको विज्ञप्तिमा समेटिएको छ ।
भारतले आफ्नो ‘छिमेकी पहिले’ (नेबरहुड फर्स्ट) नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै आएको स्मरण गराउँदै यस भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय साझेदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।