भारतको अयोध्याबाट हिँडेको रेल जनकपुरधाम आइपुग्यो

होमल्याण्ड खबर

२०८३ मंसिर ९ गते, मंगलवार १०:५९ मा प्रकाशित

भगवान् रामको नगरी भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल माता सीताको नगरी जनकपुरधाम आइपुगेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर उद्घाटन गरेपछि अयोध्याबाट गुडेको रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो ।

रेलमा भारतीय पक्षबाट आमन्त्रण गरिएका विशिष्ट व्यक्ति तथा भारतीय रेलवेका अधिकारीसहित विभिन्न क्षेत्रका करिब एक हजार एक सय अतिथि सहभागी छन् । उनीहरूलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गरे ।

अतिथिको स्वागतमा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष स्वागत कार्यक्रम आयोजना गरिएको छ ।