१० मंसिर २०८३, बुधबार
निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ कार्यसमिति र संशोधित विधान अद्यावधिक गरेको छ ।
आयोगको बुधबार बसेको बैठकले कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको विवरण र विधान अद्यावधिक गर्ने निर्णय गरेको हो ।


निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले विवरण अद्यावधिक गरेर पत्रसमेत पठाइसकेको जानकारी दिए ।
कांग्रेसले असोज १८ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो ।
त्यसपछि महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले कात्तिक १६ गते निर्वाचन आयोग पुगेर महाधिवेशनबाट पारित विधान संशोधन, राजनीतिक तथा समसामयिक राजनीतिक दस्तावेज र अन्य निर्णयहरू बुझाउँदै विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलले पदाधिकारी परिवर्तन गरेमा त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ ।