१० मंसिर २०८३, बुधबार
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका उपलब्धिबारे देशवासीलाई जानकारी गराउन माग गरेका छन् ।
आजदेखि शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै थापाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा केही उपलब्धिमूलक काम भएको भन्दै त्यसको स्वागत गरे पनि नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा भने स्पष्ट उपलब्धि देख्न नसकेको बताएका हुन् ।


‘प्रधानमन्त्रीज्यूको भर्खर भारत भ्रमण भयो । केही उपलब्धिमूलक कुरा भयो, त्यसको हामीले स्वागत गरेका छौँ । तर, नेपालको दीर्घकालीन हितका विषयमा हामीले केही पनि देखेका छैनौँ,’ उनले भने ।
भारत भ्रमणका विषयमा कांग्रेसले तत्कालै हतारिएर टिप्पणी नगर्ने स्पष्ट पार्दै थापाले भ्रमणका क्रममा भएका सहमति, उपलब्धि र त्यसले नेपालको राष्ट्रिय हितमा पार्ने प्रभावबारे प्रधानमन्त्री शाहले देशवासीलाई जानकारी गराउनुपर्ने बताए ।
‘हामी बोल्न हतार गर्दैनौँ । तर, विषयको सन्दर्भमा हामी माग गर्छौं कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ । के(के भएका हुन्, उपलब्धिहरू के(के हुन्, यी कुराहरूका बारेमा जानकारी दिनुपर्छ,’ उनले भने ।
सरकारका विदेश नीतिसम्बन्धी निर्णय र अन्तर्राष्ट्रिय भ्रमणका उपलब्धिबारे जानकारी लिनु कांग्रेसको जिम्मेवारी भएको उनको भनाइ थियो ।
‘हाम्रो जिम्मेवारी हो । हामीले यसबारेमा जानकारी लिन पाउनुपर्छ,’ थापाले भने ।