८ मंसिर २०८१, शनिबार
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौं उपत्यकामा हाउस पुलिङको योजनाअघि सारेको छ । कम जग्गा र खुल्ला ठाउँ कम भएको बेला घनाबस्तीमा बहु स्वामित्वका र बहु तले घर बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने गरी हाउस पुलिङको योजना अघि सारेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको नेतृत्वमा बुधबार बसेको प्राधिकरण, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित प्रतिनिधिहरूको बैठकले भूकम्पपछि काठमाडौं उपत्यकामा क्षतिग्रस्त घरहरू पुनर्निर्माण हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती विकास गर्ने निर्णय गरेको जनाएको छ । “पछिल्लो भूकम्पले काठमाडौं उपत्यकामा १ लाख बढी घर भत्किए पनि करिब ८० प्रतिशत घरको पुनर्निर्माण सुरु नभएको सन्दर्भमा संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे काठमाडौं र ललितपुर महानगरपालिका मेयरसहितको बैठकबाट हाउस पुलिङ प्रणालीमा जाने निर्णय गरिएको हो,” प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।
बैठकले हाउस पुलिङ सम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ । कार्यदललाई काठमाडौ उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेबारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र सहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रूपमा भवन विभागका पूर्वमहानिर्देशक सूर्यभक्त साङगाक्षेले सहयोग गर्नेछन् । कार्यदलले काठमाडौं उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट कुन कुन ठाउँमा नमुना बस्ती बसाल्न सकिन्छ भन्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्ने प्रमुख कार्यकारी अधिकृत भुसालले जानकारी दिए ।
बैठकमा काठमाडौं उपत्यकामा हाउस पुलिङ प्रणालीको विकास सम्बन्धमा परामर्शदाताका रूपमा आमन्त्रण गरिएका भवन विभागका पूर्वमहानिर्देशक साङगाक्षले कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । सटर तथा बगैंचासहितको बहुतले भवन हुने हाउस पुलिङ काठमाडौंका लागि उपयुक्त मानिएकाले भूकम्पपछिको पुनर्निर्माणमा यसलाई महत्व दिइएको प्राधिकरणले जनाएको छ