८ मंसिर २०८१, शनिबार
रसुवागढी बन्दरगाह निर्माणको प्रक्रियाको थालनी भएको छ । उत्तरी छिमेकी चीनसँगको व्यापारिक नाका रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको डिजाइन पनि तयार भएको छ । चीन सरकारले करिब तीन महिनाभित्रै बन्दरगाहको निर्माण थालनी गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले उक्त ड्राइपोर्टको डिजाइन स्वीकृत गर्दै काम तीव्र रुपमा अघि बढाउने गरी सम्झौता गरेका छन् । स्रोतका अनुसार चिनियाँ पक्षले दुई वर्षभित्रै बन्दरगाहको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ । यसका साथै सो भवनमा अध्यागमन विभाग, बैंक, भन्सार लगायत सबै निकायहरु रहने चिनियाँ परामर्शदाताको डिजाइनले देखाइएको छ ।
१ अर्व ८० करोडको अनुमान
डिजाइनअनुसार बन्दरगाहमा ३ सय ५० वटा गाडी अटाउने पार्किङ स्थल, ७५० वर्ग्मिटर क्षेत्रफलमा फैलिएको गोदाम, मालसामान चेक जाँच गर्ने टर्मिनल, चेकपोस्ट, पानी, विद्युतका लागि आवश्यक पुर्वाधार लयायत आवश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु निर्माण हुनेछन् । इन्टरमोडलअनुसार यस बन्दरगाह निर्माण गर्न १५० देखि १८० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । ८ हेक्टर क्षेत्रफलमा फैलिने सुख्खा बन्दरगाहमा पाँच तले प्रशासनिक भवन रहने छ ।
सरकारले उक्त ड्राइपोर्ट बनेसँगै रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापार सहज हुने विश्वास लिएको छ । सुख्खा बन्दरगाहका लागि स्थानीय वासिन्दाको ५८ रोपनी जग्गा अधिग्रहण गरिएको इन्टरमोडल यातायात विकास समितिका महाप्रवन्धक हेमेन्द्र शाहीले बताए । साथै सरकारी स्वामित्वमा रहेको १०९ रोपनी जग्गा पनि बन्दरगाह क्षेत्रमै समेटिएको छ । यता लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर जमिन समेत बन्दरगाहले ओगट्नेछ । भूकम्पपछि बन्द भएको तातोपानी नाका हालसम्म सुचारु हुन सकेको छैन । रसुवागढी नाकालाई नेपालबाट जोडिने नाका मध्ये उच्च प्राथमिकतामा राखेको चीनले रसुवागढी सुख्खा बन्दरगाह चाँडो बनाउने अपेक्षा गरिएको थियो । रसुवागढी नाकाबाट केरुङसम्मको दुरी करिव २६ किमी रहेको छ ।
टिमुरेमा बन्न लागेको बन्दरगाह र रसुवागढी नाकाको दुरी करिव २ किमी रहेको छ । यसैगरी, चीनको प्रसिद्ध शहर सिगात्सेदेखि केरुङसम्को दुरी भने साढे चार सय किमी रहेको छ । हाल चीनीया सक्रियतामा सुख्खा बन्दरगाहको लागतदेखि प्राविधिक काम गरिरहेको छ ।