८ मंसिर २०८१, शनिबार
काठमाडौं उपत्यकामा आज धार्मिक तथा सांस्कृतिक महत्वको गाईजात्रा पर्व मनाइँदै छ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमी तिथिसम्म मनाइने गाईजात्रा उपत्यकाका नेवारी समुदायले धुमधामसँग मनाउने गर्दछन् ।
वर्ष दिनभित्र दिवंगत भएका आफन्तको स्मृतिमा गाई वा गाईको प्रतीकका रूपमा विभिन्न झाँकी प्रदर्शन गरेर उपत्यकासहित देशका विभिन्न भागमा गाईजात्रा मनाउने चलन छ । सरकारले शुक्रबार उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
जात्रा अवधिमा यहाँका विभिन्न चोक, डबली र परम्परागत गल्लीहरूमा लोक बाजागाजाका धुन, लोकनृत्य सुन्न र हेर्न पाइन्छ । जात्रामा नेवारी भेषभूषा, भाषा, र लोकसंस्कृति झल्किने झाँकीसहित जात्रालुले नृत्य प्रस्तुत गर्छन् । जनैपूर्णिमाका दिन साँझ भक्तपुरको तलेजुस्थित बहत्वाबाट विशेष रूपमा घिन्ताङ घिसी निकालिन्छ, र यहाँ गाईजात्रा सुरु हुन्छ ।
गाईजात्रामा घर–घरबाट गाई वा गाईको प्रतीकका रूपमा भेष धारण गर्ने, गाईलाई नै शृंगार गर्ने, जोगी तथा अन्य हास्यास्पद भेष धारण गर्ने, झाँकी र लोकनृत्यसहित सहर परिक्रमा गर्ने गरिन्छ । संस्कृतिविद्हरूका अनुसार जनैपूर्णिमाका दिन नौ थरी गेडागुडी खाएर, पूर्वतिर फर्केका नौवटा ढुंगेधारामा स्थान गर्ने र नौ जोर कपडा बदलेमा मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ ।